images
images

संसदमा गगनको चेतावनी : गृहमन्त्रीले सहकारीबाट ऋण लिएको र एक अर्ब अपचलन गरेको प्रमाण पेश गरौं ?

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारीको रकम अपचलन गरेको विषयमा संसदीय छानबिन समिति नबनेसम्म संसदका कामकारबाही अघि बढ्न नसक्ने बताएका छन्।

प्रतिनिधिसभा बैठकमा उठेर अवरोध गरेपछि सभामुखले थापालाई बोल्न समय दिएका थिए।

त्यसपछि थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको थुप्रै प्रमाण आफूहरूसँग रहेको जिकिर गरे।

‘सहकारीको ठगीको सन्दर्भमा यो संसदले छानबिन समिति बनाओस्, समितिमा त सबै दल बस्ने होला’, थापाले भने, समिति बनाएर छानबिन गर्न किन डराएको?’ कहिले प्रधानमन्त्रीलाई बोल्न लगाएको छ, कहिले प्रहरीलाई बोल्न लगाएको छ, हुँदा हुँदा महान्यायाधिवक्ता कार्यालयलाई दुरुपयोग गर्ने?

उनले गृहमन्त्री लामिछानेले सहकारीको अर्बौँ रकम ठगी गरेको जिकिर गरे।

‘गृहमन्त्रीमाथि कहिँ अभियोजन भएको छैन, अनुसन्धान भएको छैन भनेर झुठ बोल्ने? रुपन्देही प्रहरी कार्यालयले गरेको अनुसन्धान, त्यहाँको अदालतमा भएका प्रमाणहरू पेश गरौं? सहकारीमा आफैंले लिखित गरेर माग फारम भरेर ऋण लिएको प्रमाण पेश गरौं? एक अर्ब रुपैयाँ अपचलन गरेका प्रमाणहरू पेश गरौं। मैले पेश गरेका प्रमाणहरू गलत सावित गर्दिनुस् न,हामीले यही भनिरहेको होइन? थापाले भने, ‘संसदीय छानबिन समिति नबनेसम्म सदनका कुनै कामकारबाही अगाडि बढ्न सक्दैन। यसको जिम्मेवार हामी होइन सरकार हो। अब हामीलाई भन्न पाइँदैन’