images
images

पर्सा प्रहरीद्वारा एक महिनामा ६ करोडको अवैध सामान बरामद

वीरगञ्ज – पर्सा प्रहरीले वैशाख महिनामा ६ करोड १३ लाख ६८ हजार ४४ रुपैयाँ बराबरको लत्ताकपडा, किराना, औषधि तथा इलेक्ट्रोनिक्स सामान नियन्त्रणमा लिएर सम्बन्धित कार्यालयमा बुझाएको छ।

पर्सा प्रहरीले वैशाख महिनामा गरेका कामको बारेमा जानकारी दिँदै एक महिनामा ३५ लाख २० हजार ७ सय रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको जनाएको छ।

यस्तै, एक महिनाको अवधिमा १ लाख २३ हजार नक्कली नोट बरामद गर्नुका साथै ४२ वटा हराएको मोबाइल खोजी गरी सम्बन्धित व्यक्तिको जिम्मा लगाएको पर्सा प्रहरीले जानकारी दिएको छ।

प्रहरीले आपराधिक कार्यमा संलग्न रहेको आरोपमा भारतीय नागरिक बब्लु पासवान भन्ने गणेश कुमारलाई एक थान मेड इन युएसए लेखिएको पेस्तोलसहित पक्राउ गरेको जनाएको छ।

यस्तै, पर्सा प्रहरीले वैशाख महिनामा फैसला कार्यान्वयनतर्फ १ सय ५१ जना प्रतिवादीलाई पक्राउ गरी ५ वर्ष २९ दिन कैद र १५ लाख ८ हजार ७४२ जरिवाना असुल गरेको छ। ११ जना फरार प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ।

वैशाख महिनामा पर्सा प्रहरीले लागुऔषधतर्फ गाँजा १५ केजी, खैरो हिरोइन ५७.४५ ग्राम, कोरेक्स ६७ बोत्तल, नाइट्राभेट ७९९ पिस, फेनारगन ३० एम्पुल, डाइजेल्याब ३३ एम्पुल, नुरफिन ३३ एम्पुल बरामद गरेको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार विक्रम थापाले जानकारी दिए।