images

नेपालमा लगानी गर्नुहोस्,लगानीको सुरक्षा सरकारले गर्छ : पर्यटनमन्त्री तामाङ

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री हित बहादुर तामाङले बंगलादेशका व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आह्वान गर्नुभएको छ।

मन्त्री तामाङले यसरी गरिएको उनीहरुको लगानीको सुरक्षा नेपाल सरकारले गर्ने बताए । नेपाल र बंगलादेशबीच सांस्कृतिक, पर्यटन र व्यापार सम्बन्ध जनस्तरसम्म पुर्याउन सके द्विपक्षीय विकासको गति लिनसक्ने उनको धारणा थियो। शुक्रबार साँझ नेपाल बंगलादेश फ्रेण्डसिप सोसाइटीले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन।

नेपाल र बंगलादेशबिच सम्बन्ध ऐतिहासिक रहेको भन्दै उनले विपद्मा बंगलादेशले अतुलनीय सहयोग गरेको बताए । अब त्यस्तो सम्बन्धलाई सांस्कृतिक रूपमा बलियो पार्दै दुई देशको विकाससँग जोड्नुपर्ने बताउंदै मन्त्री तामाङले बिद्युत व्यापारबाट नेपालले बंगलादेशको उर्जा संकट समाधान गर्नसक्ने बताए। नेपाल र बंगलादेशबीचको सम्बन्ध जनस्तरसम्म जोडिन र नेपालमा बढी भन्दा बढी बंगलादेशी पर्यटक भित्र्याउन बंगालीले नेपालको बिभिन्न क्षेत्रमा लगानी गर्नुपर्ने उनको जोड थियो । उनले भने, ‘हाम्रा तमाम समानता छन् र उस्तै विविधता पनि छन्। मुख्य कुरा सामूहिक स्वार्थ समान छ। दुई देश र जनस्तरमा सहयोग आदानप्रदान गर्न सके दुवै देशको विकासमा राम्रो टेवा पुग्नेछ।’ बंगलादेश ऊर्जाको भोको मुलुक रहेकाले नेपालले बिजुली बेचेर राम्रो आम्दानि गर्न सक्छ भने नेपाल बंगलादेशका लागि विद्युतको स्रोत मुलुक हुनसक्ने उनले बताए ।नेपाल र बंगलादेशबीच विद्युत् विकास तथा आदानप्रदान र प्राविधिक सहयोगमा सहकार्य गर्ने गरी ‘इनर्जी को-अपरेसन’ सम्बन्धी समझदारी (एमओयू) २०७५ साउन महिनामा भएको थियो ।

भारतले नेपालबाट बंगलादेशमा ५० मेगावाट बिजुली निर्यात गर्न सहमति दिएको भएपनि बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्ने भएको छ ।