images

पत्रकार महासङ्घको निर्वाचन तोकिएकै समयमा गर्न ६ सङ्गठनको माग

काठमाडौं ।  नेपाल पत्रकार महासंघको निर्वाचन तोकिएको समयमै सम्पन्न गर्न वाम पक्षधर ६ संगठनले संयुक्त रुपमा माग गरेका छन् । महासंघको जेठ २६ गते तोकिएको निर्वाचनको मिति नजिकिँदै गर्दा सदस्यता र नामावली टुंगो लगाएर सावर्जनीक गर्न ढिलाई गरिएको भन्दै प्रेस चौतारी, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन नेपाल, प्रगतिशील पत्रकार संघ नेपाल, जनपत्रकार संगठन नेपाल र क्रान्तिकारी प्रेस संगठनले शनिवार संयुक्त विज्ञप्ति प्रकाशित गर्दै महासंघ नेतृत्वलाई छिटो सदस्यता टुंगो लगाई निर्वाचन गर्न दबाब दिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन प्रयोजनका लागि वैशाख मसान्तभित्र निर्वाचन समितिलाई मतदाता नामावली उपलब्ध गराउन महाधिवेशनले निर्देश गरेकोमा हालसम्म पनि निर्वाचन समितिलाई आधिकारिक सूची उपलब्ध नगराइएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

उनीहरुले महासंघका अद्यावधिक सदस्यहरुको नामावली तत्काल निर्वाचन समितिलाई बुझाई सार्वजनिक गर्न र उक्त नामावलीमा छुट भएका क्रियाशील पत्रकारहरूको नामावली समावेश गरी निर्वाचन समितिबाट प्रक्रिया बमोजिम अन्तिम नामावली प्रकाशन गर्ने वातावरण बनाउन माग गरेका छन् ।

मतदाता नामावलीमा त्रुटि सच्याउन तथा छुटेका पत्रकारहरूको नाम समेट्नुपर्ने माग गर्दै समाजवादी प्रेस सङ्गठन र प्रेस युनियनसँग आबद्ध पत्रकारहरूले महासङ्घको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिरहेका छन् ।

महासङ्घको नयाँ नेतृत्वका लागि जेठ २६ गते निर्वाचन हुँदैछ ।