images

वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटेपछि रेमिटेन्समा सङ्कुचन आउने सङ्केत

काठमाडौं । वैदेशिक रोजगारीमा नेपाली कामदारको माग कम हुन थालेको छ ।

इजरायल–हमास युद्धपछि खाडी देशमा देखिएको त्रास र त्यसले निम्त्याएको आर्थिक मन्दीको असर नेपालको वैदेशिक रोजगार व्यवसायमा देखिएको हो ।

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो १० महिनाको तथ्याङ्कमा संस्थागत रूपमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ६ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको वैशाखसम्म मेनपावरमार्पmत वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या ३ लाख १९ हजार ५५५ रहेकोमा चालु आवमा सो सङ्ख्या ३ लाख १७२ मा सिमित भएको छ । यसले साढे १९ हजार विदेशिने सङ्ख्या घटेको देखाउँछ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष रोहन गुरुङले मलेसियाले विदेशी कामदार नलिने निर्णय गरेको कारण नेपालको वैदेशिक रोजगार व्यवसायमा प्रभाव परेको बताएका छन् । वैदेशिक रोजगारीमा आएको कटौतीसँगै रेमिटेन्समा सङ्कुचन आउन सक्ने सम्भावना देखिएको तथ्याङ्कले देखाएको छ ।

केन्द्रीय बैंकका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ९ खर्ब ६१ अर्ब २२ करोड रेमिटेन्स हासिल भएको थियो । जबकी केन्द्रीय बैंकले सार्वजनिक गरेको पछिल्लो देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले चैत महिनासम्म विप्रेषण आप्रवाह (रेमिटेन्स) १० खर्ब ८२ अर्ब ६२ करोड पुगेको छ । यो तथ्याङ्कले एक महिनामै १ खर्ब २१ अर्ब ४० करोड रूपैयाँ रेमिटेन्स आएको देखिन्छ ।

 

मलेसियाले जुन महिनादेखि अनिश्चित समयका लागि विदेशी कामदार नलिने घोषणा गरेको छ । नेपालको ठूलो श्रम बजारमा मलेसिया पनि पर्छ । सोही कारण आगामी दिनमा संस्थागत रूपमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या अझ घट्न सक्ने देखिएको छ ।

प्रत्येक महिना साला खाला एक खर्ब रेमिटेन्स आइरहेको केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ । नेपालको वैदेशिक रोजगार व्यवसया खुम्चिन थाल्यो भने अबको दिनमा रेमिटेन्समा पनि सङ्कुचन आउने देखिएको छ । रेमिटेन्सले धानेको अर्थतन्त्रमा सङ्कुचन आउने वित्तिकै यसको प्रभाव अर्थतन्त्रका अन्य क्षेत्रहरूमा पर्न सक्ने देखिन्छ ।

 

कोभिडपछि मलेसिया तथा खाडीमा धेरै नेपालीको माग भएको थियो । अहिले पुनः आर्थिक मन्दी सुरू भएपछि माग घट्न थालेको हो । कोभिडपछि विश्वभर श्रमिक अभाव हुँदा सबैले आवश्यकता अनुसार माग पूरा गरेको असर अहिले देखिन थालेको छ । त्यसमा पनि मलेसियाले जुन महिनादेखि अनिश्चित समयका लागि विदेशी कामदार नलिने घोषणा गरिसकेको छ । जसको कारण आगामी दिनमा संस्थागत रूपमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या अझ घट्न सक्ने सम्भावना बढेको छ ।

 

नेपालमा प्रत्येक वर्ष करिब पाँच लाख श्रमयोग्य जनशक्ति श्रम बजारमा प्रवेश गर्ने सरकारी अनुमान छ । यसरी प्रवेश गर्ने श्रमशक्तिलाई रोजगार प्रदान गर्न नेपालको श्रम बजार सक्षम छैन । न्यून आर्थिक वृद्धि, भौगोलिक जटिलता, सीमित उब्जाउ योग्य भूमी, सीपविहिन जनशक्ति र कमजोर संरचनात्मक आर्थिक प्रणालीका कारण देशमा रोजगार उपलब्ध हुन नसकेर वैदेशिक रोजगारीमा जानु पर्ने बाध्यतामा युवा वर्ग रहेका छन् ।

 

नेपालले वैदेशिक रोजगारीका लागि संस्थागत रूपमा कामदार पठाउन खुला गरेको देशको सङ्ख्या ११० पुगेको छ । सरकारले नयाँ विकल्पको खोजी गर्न सकिरहेको छैन् । कतार, मलेसिया, साउदी अरब, युएइ, कुवेत, वहराइन, ओमान, दक्षिण कोरियालगायतका देश नेपाली युवालाई प्रमुख श्रम गन्तव्यका रूपमा रहेका छन् ।

अघिल्लो आर्थिक वर्ष खाडी तथा मलेसियाको विकल्पमा नयाँ श्रम गन्तव्यको खोजी गर्न नसक्दा २५१ मेनपावरको कम्पनीको कारोबार शून्य जस्तो अवस्थामा रहेको थियो । कोरोना संक्रमणका कारण खुम्चिएको श्रम गन्तव्यको विस्तार गर्न नसक्दा विदेश जानेमात्र नभई मेनपावरमा कार्यरत हजारौँ कर्मचारीले समेतले रोजगारी गुमाएका थिए ।