images

बजेट सबै मन्त्रालय र मन्त्रीहरूसँग सहमति गरेर आएको हो : मन्त्री अर्याल

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर नै बजेट ल्याइएको बताएका छन्। आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले सरकारले नियतवश कुनै क्षेत्रलाई छुट्यायो भन्ने आरोप लगाउनु नहुने जिकिर गरे। उनले सरकारले बजेट ल्याउँदा कुनै क्षेत्र छुटेका हुनसक्ने र ती क्षेत्रलाई आगामी बजेटमा नछुटाउन बहस र छलफल गर्न सकिने बताए।

उनले मन्त्रीहरुले बजेट पठाएपछि मात्रै बजेट आएको बताए।

उनले भने, ‘सरकारले बजेट ल्याउँदै गर्दा सबै क्षेत्रलाई समेट्यो समेटेन, निजी क्षेत्रलाई समेट्यो समेटेन, कर्मचारीहरुलाई समेट्यो की समेटेन। यसका बारेमा आज छलफल गर्दैछौँ। यो बजेट सरकारले ल्याएको हो। सरकारले बजेट ल्याउँदा कुनै क्षेत्र छुटेका हुनसक्छन्, अर्को पटक नछुटाउन के गर्न सकिन्छ भनेर बहस गर्न सकिन्छ। तर नियतवश छुटाइएको हो भनेर आरोप लगाउन उचित हुँदैन। बजेट बनाउँदा सबै मन्त्रालय र मन्त्रीहरुले बजेट पठाएर नै बजेट बन्ने हो। मलाई थाहा नभइ बजेट बन्यो भन्न म सक्दिनँ।’

मन्त्री अर्यालले कर्मचारीको तलव बढाउने विषय श्रम मन्त्रालयअन्तर्गत नपर्ने बताए।