images

विद्युतीय सामग्रीको प्रयोग बढाउन उपसभामुखको आह्वान

काठमाडौँ : उपसभामुख इन्दिरा रानाले जलवायु परिवर्तनप्रति चिन्ता व्यक्त गर्दै विद्युतीय सामग्री प्रयोग बढाउन आह्वान गरेकी छन्।

बुधवार विश्व वातावरण दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेकी हुन्। उनले जलवायु परिवर्तनको असर दिन प्रतिदिन बढिरहेको भन्दै असर न्यूनीकरणका लागि सबैले पहल गर्न आवश्यक रहेको बताइन्।

उनले हरेक दिनचर्यामा जलवायु परिवर्तन कम गर्न लाग्नुपर्ने बताइन्। उनले अहिले हिमालमा हिउँ पर्न छोडेको, हिमालहरू पहाड बन्दै गएको, उर्वराशक्तिमा ह्रास आउनुले जलवायु परिवर्तनको असर कस्तो छ भन्ने अनुमान गर्न सकिने बताइन्। उनले जलवायु परिवर्तनका असर कम गर्न एक्सन प्लान बनाएर काम गर्न जरुरी रहेको बताइन्।

उनले भनिन्, ‘आज सेतो हिमाल कालो भइरहेको छ। लालीगुराँस मुर्झाइरहेको छ। कोइलीका सुरिला स्वर सुनिन छोडिसके। त्यस्तै गरेर पहाड, पर्वतमा हराभरा बोटबिरुवा र फूल फुल्न छोडिसके। अहिले जलवायु परिवर्तनका कारण तापले गर्दा ती फूल मुर्झाएका छन्। सिस्नु र कोदोका रोटी खान पाइँदैन किनभने उमार्नै सकेका छैनौँ। हामीले भान्सामा विद्युतीय सामग्रीको प्रयोग बढाउनुपर्छ। हामीले जलवायु परिवर्तनलाई न्यूनीकरण गरेर लैजानुपर्छ।’

उपसभामुख रानाले बाँसका सामग्री, माटोका भाँडाको प्रयोग बढाएर प्लास्टिकको प्रयोग कम गर्न आह्वान गरिन्।