images

भरतपुर भ्रमण वर्ष : प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई सौराहाका होटेल/रेष्टुराँमा टुटैछुट

काठमाडौं । प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले चितवनको सौराहामा अवस्थित विभिन्न होटेल तथा रेष्टुराँहरूमा विशेष छुट पाउने भएका छन् ।

‘भरतपुर भम्रण वर्ष, २०२४’ लाई लक्षित गर्दै बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरूलाई विशेष छुट सुविधा उपलब्ध गराउन सौराहाका विभिन्न होटेल तथा रेष्टुराँहरूसँग छुट्टाछुट्टै सम्झौता गरेको छ ।

प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख साङ्ग्रीला श्रेष्ठ र सौराहाका शाखा प्रबन्धक मणि मानन्धरले १६ वटा भन्दा बढी होटेल तथा रेष्टुराँसँग सम्झौता गरेका छन् । सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूले बैंकसँगको आवद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटेलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने छन् ।

सो सम्झौता बमोजिम बैंकका ग्राहक तथा कर्मचारीहरूका लागि आवासमा ८% देखि १५% तथा खाना तथा पेय पदार्थमा १०% देखि १५% सम्मका छुट प्राप्त गर्न सकिने बैंकद्वारा जारी विज्ञिप्तमा उल्लेख छ ।

यस्तो सम्झौतामा सहभागी होटेल तथा रेष्टुराँहरूमा होटेल एकावा इन (फोर स्टार होटेल), सपना गाउँ लज, सिद्धार्थ भिल्लास बनबास, चितवन (होटेल बनबास चितवन), होटेल वाइल्डलाइफ क्याम्प, पार्क सफारी रिसोर्ट, चौतारी गार्डेन रिसोर्ट, राइनो लज एण्ड होटेल, होटेल रोयल सफारी, द पार्क सेन्चुरी होटेल भिल्लाजियो रेस्टुरेन्ट तथा होटेल), ट्राभलर्स जङ्गल क्याम्प, होटेल मिराज, ओपन सेकुवा कर्नर, रिभर भ्यू जंगल क्याम्प, हिमालयन इन, जङ्गल सफारी लज, रोयल टाइगर लक्जरी होटेललगायत छन् ।

प्राकृतिक, साँस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिहरूले भरिपूर्ण चितवन विभिन्न प्राकृतिक छटाले भरिपूर्ण रमणीय र पर्यटकीय स्थलका रूपमा चिनिन्छ । सौराहा, मेघौली, कसरा, देवघाटधाम जस्ता रमणीय एवम् धार्मिक क्षेत्रको भ्रमण गर्नेहरूका लागि उपयुक्त गन्तव्यका रूपमा लिन सकिन्छ ।

विभिन्न देश तथा विदेशबाट सो स्थानमा पर्यटकहरूको आगमन हुने गरेको छ । विश्वमै अति दुर्लभ एकसिङ्गे गैँडा, विभिन्न प्रजातीका चराचुरुङ्गी, मृग जस्ता जङ्गली जनावरहरू एवम् वन तथा वन्यजन्तुहरूको आरक्षणको अवलोकनका निम्ति जिपसफारी, हात्तिसफारी र थारु समुदायको बाहुल्यता रहेको यस नगरीमा उनीहरूको सांस्कृतिक, पुरातात्विक एवमम् मौलिक किसिमको नृत्य पर्यटकहरूका लागि मुख्य आकर्षणको केन्द्र हो ।

पछिल्लो पटक ‘बैंक अफ द इयर २०२३’को उपाधिबाट सम्मानित प्रभु बैंकले आफ्ना देश भरका ३०२ वटा शाखा कार्यलय, २८५ वटा एटीएमका साथै ७० वटा भन्दा बढी एक्सटेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै, छोटो समयको अन्तरालमा बैंक फिनाकल इन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।

विभिन्न कारणले मिति सर्दै आएको ‘भरतपुर भ्रमण वर्ष २०२४’ तीन महिनापछि गत फागुन १८ गतेदेखि सुरू भएको छ । भरतपुर महानगरपालिकाको आयोजनामा ‘घुमौँ भरतपुर’ भन्ने नारासहित सुरू भएको भ्रमण वर्ष अवधिमा दुई लाख विदेशीसहित पाँच लाख पर्यटक भित्र्याउने उद्देश्य रहेको महानगरपालिकी प्रमुख रेनु दाहालले बताएकी छिन् ।

उनका अनुसार भ्रमण वर्षले आर्थिक विकासमा अघि बढ्न विशिष्ठ सन्देश दिनेछ । उनले पाँच दिनसम्म भरतपुरमा घुम्न सकिने गरेर पूर्वधार निर्माण गरिएको र पर्यटकीय गन्तव्य तय गरिएको बताइन् । भ्रमण वर्षले महानगरका गन्तव्यहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रर्वद्धन गर्ने, पर्यटकको संख्या र बसाइको अवधि वृद्धि गर्दै दिगो पर्यटन विकासबाट समग्र चितवनलाई नै टेवा दिने उनको अपेक्षा छ ।

यसअघि ०८० साललाई भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेको महानगरले त्यतिवेला मुख्य राजमार्ग निर्माणाधीन अवस्थामै रहेकाले सार्नुपरेको बताएको थियो । २०२४ को जनवरीमा पनि यही कारण देखाउँदै अन्तिम समयमा भ्रमण वर्षको कार्यक्रम रद्द गरिएको थियो ।