images

ट्यांकर व्यवसायीको विरोधका कारण काठमाडौंका पेट्रोल पम्पहरु बन्द

काठमाडौं– काठमाडौंका पेट्रोल पम्पहरू बन्द गरिएको छ। हिजो साँझबाटै पेट्रोल अभाव देखाउँदै पम्पहरू बन्द गरिएको हो। सेना र प्रहरीद्वारा सञ्चालित पम्पमा अभाव नदेखिए पनि बिहानैदेखि ग्राहकको लामो लाइन छ।

उपत्यकाका अधिकांश जसो पम्पमा ‘पेट्रोल छैन’ लेखेर झुण्ड्याइएको छ। पेट्रोलियम ट्यांकर चालक संघको आव्हानमा विभिन्न मागसहित मजदुरहरू आन्दोलनमा उत्रिएपछि पेट्रोल राजधानी भित्रिन पाएको छैन।

जेठ ३२ देखि कालो मट्टी बाँधेर आन्दोलन थालेका उनीहरूले असार १ मा ट्यांकरमा कालो झण्डा राखेका थिए। हिजोदेखि पूर्णरूपमा काम छाडेर गाडीको साँचो ट्यांकर धनीलाई बुझाएका छन्।

यस्तै स्वरोजगारको हकमा मात्र लागु भएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्नुपर्ने, इन्धन ढुवानी गर्दा इन्धनको तापक्रमको सही व्यवस्थापन गर्नुपर्ने, समाजिक सुरक्षा कोषमा आवद्ध गराउनुपर्ने, ५० लिटरभन्दा बढी नाममा परेको दोब्बर प्रकरण खारेज गर्नुपर्ने, चालक तथा सहचालकलाई जोखिम भत्ता उपलब्ध गराउनुपर्ने तथा चालक तथा सहचालकलाई प्रत्येक ३ महिनामा सुरक्षा सर्तकता सम्बन्धी तालिम उपलब्ध गराउनुपर्ने माग राख्दै ढुवानी चालकहरु आइतबारदेखि आन्दोलनमा उत्रिएका हुन् ।