images

भरतपुर महानगरपालिकाद्वारा साढे चार हजार जनालाई स्वरोजगार तालिम

चितवन । भरतपुर महानगरपालिकाले चालु आर्थिक वर्ष ०८०/०८१ मा ४ हजार ५ सय २४ जनालाई निःशुल्क तालिम दिएको छ । उत्पादन र रोजगारीलाई प्राथमिकता दिँदै आइरहेको महानगरले वडा र महानगरस्तरीय गरी यस आर्थिक वर्षमा विभिन्न प्रकारको स्वरोजगारसम्बन्धी तालिम दिएको हो ।

महानगरका रोजगारी शाखाका अनुसार ब्युटीपार्लर, बालबालिकाको क्षमता वृद्धि, महिलाहरूको आन्तरिक क्षमता वृद्धि, बुटिक र पोते बनाउने, कौशी खेती, पञ्चेबाजा बजाउने, मादल तथा खैजडीमा खरी भर्ने, मन्टेश्वरी, झोला, जुत्ता तथा चप्पल बनाउने, अचार बनाउने तालिम दिइएको छ ।

यस्तै प्लम्बिङ, कृषि, बेकरी, सरफ, साबुन, भाडा धुने झोल र फिनेल बनाउने, घरेलु फोहोर व्यवस्थापन, चित्रकला, कपाल काट्ने, अमिन, झुम्का, माला, नेकलेस तथा चुरा बनाउने, ड्राइभिङ, एड्भान्स सिलाइकटाई, कुक र होमेस्टे, इलेक्ट्रिसियन, सेनेटरी प्याड बनाउने लगायतका तालिम पनि दिइएको छ । यी तालिमको अवधि एक दिनेदेखि ४ महिनासम्म  थियो ।

‘श्रमलाई उत्पादनसँग’ जोडेर शीप नहुनेलाई शीपयुक्त बनाउनु, शीप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर शीप नभएकाहरूको व्यावसायिक स्तरवृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य उद्देश्य रहेको महानगरले जनाएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा पूर्वाधारको विकाससँगै विभिन्न परियोजनामा दक्ष जनशक्तिको माग भएकाले निःशुल्क तालिमलाई जोड दिइएको बताइन् । अहिले यहाँका उद्योग, कलकारखाना लगायतका ठाउँमा भारतलगायत अन्य देशबाट दक्ष नागरिक ल्याउनुपर्ने बाध्यता रहेको उनले सुनाइन् । तालिमको व्यवस्था गरिने युवाहरूलाई स्वरोजगार बनाई स्वदेशमै बस्ने वातावरण तयार गर्ने महानगरको उद्देश्य रहेको प्रमुख दाहालको भनाइ छ ।