images

प्रहरी जवानको शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगियो

काठमाडौं : नयाँ बानेश्वरस्थित संसद भवनको शौचालयमा मृत भेटिएका प्रहरी जवान अजित गोलेको शव पोष्टमार्टमा लागि महाराजगञ्जस्थित त्रिभुवन  शिक्षण अस्पताल (टिचिङ ) लगिएको छ। २२ वर्षीय गोलेले बुधबार बिहान ८ बजेतिर आफूले बोकेको इन्सास राइफल आफ्नै निधारमा हानेर आत्महत्या गरेको प्रहरी उच्च स्रोतले जनाएको छ।

संसद भवनको पश्चिम गेटको २ नम्बर गेटमा सुरक्षार्थी खटिएका उनको घटनास्थलमै मृत्यु भएको हो। बिहान ६ बजेदेखि ड्युटीमा रहेका गोले  ८:१५ बजेतिर शौचालयमा मृत भेटिएको काठमाडौं प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए।

दोलखाको मेलुङ गाउँपालिका-४ घर भएका गोले हाल संघीय संसद सुरक्षा वेस नयाँबानेश्वरमा कार्यरत थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।