![](https://laltinkhabar.com/wp-content/uploads/2024/06/safdak.jpg)
दमौली (तनहुँ), ७ असारः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा आएको छ ।
शुक्लागण्डकी नगरपालिका–७ शेरामा बिहीबार सडक भासिएर अवरुद्ध भएको उक्त खण्ड एकतर्फी सञ्चालन भइरहेको छ । वर्षाका कारण सडक भासिँदा बिहीबार दिउँसो चार घण्टा सडक अवरुद्ध भएको थियो । आज पनि सोही ठाउँमा एउटा बोलेरो जीप फस्दा सडक अवरुद्ध रहेकामा जीप निकालेपछि एकतर्फी सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । निर्माणाधीन मुग्लिन पोखरा सडक योजनाको पश्चिम खण्डअन्तर्गत शेरामा पक्की पुल निर्माण भइरहेको छ । सोही पुलको नजिकै डाइभर्सन सडक बनाइएकामा वर्षाले सडक भासिएको थियो ।
पश्चिम खण्डअन्तर्गत म्याग्दे, शुक्लागण्डकीलगायतका केही ठाउँमा वर्षा हुँदा सवारी सञ्चालनमा समस्या हुँदै आएको छ ।