images

बागमती नगरपालिकाका मेयर थापासँग तीन लाख धरौटी माग

काठमाडौं । बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापासँग विशेष अदालतले धरौटी मागको आदेश गरेको छ।

गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग लागेका प्रमुख थापालाई विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तीन लाख रुपैयाँ धरौटी माग गरेको विशेषका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।

थापामाथि गत २८ चैतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच करोड ३३ लाख रुपैयाँभन्दा बढी बिगो कायम गर्दै मुद्दा दायर गरेको थियो। उनले उल्लिखित रकमबराबरको सम्पत्तिको वैध स्रोत खुलाउन नसकेपछि उनीमाथि मुद्दा दायर भएको हो ।

थापा मेयरमा निर्वाचित भएको मितिदेखि उनले उक्त रकम अवैध रूपमा आर्जन गरेको अख्तियारको दाबी छ। ०७४ को असोजदेखि ०७९ माघसम्म सार्वजनिक सेवामा रहँदा थापाले उक्त रकम भ्रष्टाचारबाट आर्जित गरेको दाबी अभियोगपत्रमा छ।