images

नेपाल-चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको बैठक आज बस्दै, के छन् एजेन्डा ?

काठमाडौं-नेपाल-चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज काठमाडौंमा बस्दै छ ।

 

चिनियाँ पक्षबाट उपविदेशमन्त्री सुन वेइडोङ र नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले नेतृत्व गर्ने बैठकमा दुई देशबीचको आपसी सहयोग, व्यापार, सीमा व्यवस्थापन तथा द्विपक्षीय सम्झौताबारे छलफल हुने परराष्ट्र मन्त्रालयको भनाइ छ ।

बैठकमा भाग लिनका लागि आएका चिनियाँ उपविदेशमन्त्री सुनले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गरे का थिए ।

बैठकमा नेपालले चीनको सहयोग, व्यापार, लगानी र पर्यटन प्रवर्द्धन, कनेक्टिभिटी विस्तार तथा कृषि, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धलगायत एजेन्डा छलफलका लागि तय गरेको छ । साथै सीमापार २२० केभी प्रसारण लाइन निर्माण र नेपालमा चिनियाँ लगानीका परियोजनाहरूलाई छिटो सम्पन्न गर्नेबारे पनि बैठकमा छलफल गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यस्तै सन् २०१६ मा गरिएको यातायात र पारवहन सन्धि कार्यान्वयनमा पनि नेपालले जोड दिने, गत साता नेपाल र चीनबीच बेइजिङमा भएको नापी विभागका महानिर्देशकस्तरीय द्विपक्षीय बैठकबाट प्राप्त सुझावकाबारेमा पनि छलफल हुने जनाइएको छ ।