images

यस्तो छ बागलुङ ,गुल्मी र स्याङ्जा को पछिल्लो पहिरो अपडेट

बागलुङ– बागलुङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा दुईजना घाइते भएका छन् ।

आज बिहान ३ बजे गएको पहिरोले घर पुरिँदा गलकोट नगरपालिका–८ काँडेबाँस बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो ।

घरमा पुरिएका प्रेमकी बुहारी कुमारी र नाति शिशिरलाई घाइते अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ ।
गुल्मीमा पहिरोमा पुरिएर तीनजनाको मृत्यु, दुईजना बेपत्ता
गुल्मी– गुल्मीमा गएराति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता भएका छन् ।मालिका गाउँपालिका– ६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गएराति पहिरोले पुरिएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलका अनुसार ५६ वर्षीय भेषबहादुर बिक, उनकी श्रीमती ४७ वर्षीया सुन्तली, बुहारी ३० वर्षीया सीता तथा दुई नातिनी सात वर्षीया सपना र दुई वर्षीया विपना पहिरोमा पुरिएका हुन् ।

पहिरोमा पुरिएकामध्ये भेषबहादुर, सीता र सपनाको  शव फेला परेको छ । सुन्तली र विपनाको अवस्था भने अज्ञात छ ।

इस्मा प्रहरीचौकीबाट उद्धारका लागि प्रहरी टोली घटनास्थलमा पुगेको छ । स्थानीयको सहयोगमा अहिले प्रहरीले पहिरोमा पुरिएकाहरुको खोजी गरिरहेको मालिका–६ का वडाध्यक्ष दीपक भण्डारीले जानकारी दिए ।

सदरमुकाम तम्घासबाट पनि नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए । 

स्याङ्जामा पहिरोले घर पुर्दा आमाछोरीको मृत्यु

स्याङ्जामा पहिरोले घर पुर्दा आमाछोरीको मृत्यु भएको छ । फेदीखोला गाउँपालिका(५ मा गएराति साढे ११ बजे आएको पहिरोले घर पुरिँदा ३१ वर्षिया दुर्गा जिटी र छोरी ३ वर्षीया निकिसाको मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालयका डीएसपी इन्द्र बहादुर राणाका अनुसार राति सुतिरहेको बेला घरभन्दा २५ मिटर माथिबाट खसेको पहिरो उनीहरुलाई पुरेको थियो । पहिरोमा पुरिएर एक भैँसी पनि मरेको डिएसपी राणाले जानकारी दिए।