असार २० सम्म भारी वर्षाको सम्भावना, ३४ जिल्लालाई सचेत रहन ‘रेड अलर्ट’

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले थप तीन दिन अत्याधिक पार्नी पर्ने जनाएको छ। मनसुन सक्रिय हुँदै गएकाले भारी वर्षाबाट ३४ जिल्ला अति प्रभावित हुने सम्भावना रहेको उल्लेख गरिएको छ।

विभागले विशेष बुलेटिन जारी गर्दै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ३४ जिल्लामा ‘रेड अलर्ट‘ जारी गरेको छ। यसैगरी २६ जिल्लामा मध्यम जोखिमको सम्भावना रहेको बताइएको छ। जहाँ संकेत स्वरुप ‘एलो अलर्ट’ जारी गरेको छ ।

कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, भोजपु्र, खोटाङ, सोलुखुम्बु र ओखलढुंगा बढी जोखिममा छन् । बागमती प्रदेशका मकवानपुर, चितवन, सिन्धुपाल्चोक र दोलखा जिल्ला जोखिममा परेका छन् भने गण्डकीका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व र लमजुङमा विशेष सावधानी अपनाउनुपर्ने भएको छ।

लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुम पूर्व पनि अति जोखिमको संकेत स्वरुप रेड अलर्टमा राखिएका छन् । केही दिनदेखि लगातार पानी परिरहेको छ। न्यून चापीय रेखाका कारण मनसुन सक्रिय हुन थालेको विभागको जनाएको छ।

यसअघि विभागले असार १२ गतेदेखि १७ गतेसम्म सतर्क रहन भनेको थियो। फेरि तीन दिनका लागि सूचित गरेको हो।