images

सरकारले २५ दिनैमै दियो असारे विकासमा पौने दुई खर्ब खर्च

काठमाडौँ । सरकारले असारको २५ दिनमा पौने २ खर्ब रुपैयाँ बजेट खर्च गरेको छ । आज (मंगलबार) बिहानसम्मको तथ्यांक अनुसार सरकारले १३ खर्ब ५६ अर्ब २१ करोड रुपैयाँ बजेट खर्च गरेको छ ।

सरकारले यस वर्ष १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । मंगलबार बिहानसम्मको तथ्यांक अनुसार सरकारले कुल लक्ष्यको ७७.४४ प्रतिशत बजेट खर्च गरेको छ । सरकारी कार्यालयमा आएर रोकिएका बिल बाहेक अब नयाँ भुक्तानी हुने छैन । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धित नियमावलीको प्रावधान अनुसार आर्थिक वर्ष समाप्त हुनु एक साता अगाडि नै सरकारले भुक्तानी बन्द गरिसक्नु पर्छ । सोहीकारण सरकारले सबैभन्दा बढी भुक्तानीको चाप सोमबार बेहोरेको छ ।

२३ असारका दिन १२ खर्ब ९८ अर्ब रहेको सरकारी खर्च २४ असारमा १३ खर्ब २२ अर्ब पुगेको छ । २५ असार अर्थात् मंगलबार बिहानसम्म भने १३ खर्ब ५६ अर्ब रुपैयाँ खर्च पुगिसकेको छ । यसआधारमा सरकारले सोमबार एकै दिन ठूलो भुक्तानी गरेको हो ।

त्यसो त असार १ गते यता मात्र १ खर्ब ७७ अर्ब १२ करोड ७१ लाख रुपैयाँ बजेट खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । यो आर्थिक वर्षको कूल बजेटको १० प्रतिशतमाथिको खर्च हो । अन्तिम महिनामा मात्र कूल बजेटको १० प्रतिशत माथिको बजेट खर्च हुनुले यस वर्ष पनि सरकारले असारे विकासलाई निरन्तरता दिएको छ । नियमावली अनुसार अबको एक सातामा सरकारले आफूसँग बिल आइसकेको मात्र थप भुक्तानी गर्नेछ । यसबाहेक अत्यावश्यक भुक्तानीको बाटो भने खुला नै छ ।