images

मेलम्चीको पानी बाह्रै महिना काठमाडौँ ल्याउने सुझावसहितको प्रस्ताव पेश गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ- संसदीय समितिले मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना काठमाडौँ उपत्यकामा खानेपानी आपूर्ति र वितरण गर्न देखिएका समस्याको समाधानको लागि ठोस सुझावसहितको प्रस्ताव पेश गर्न सरकारलाई निर्देशन दिएको छ।

बुधबार बसेको राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकले मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना काठमाडौँ उपत्यकामा खानेपानी आपूर्ति र वितरण गर्न देखिएका मुलभूत समस्याको समाधानको लागि ठोस सुझावसहितको प्रस्ताव समितिसमक्ष पेश गर्न खानेपानी मन्त्रालयलाई निर्देशन दिएको हो।

समितिले बैठकमा खानेपानी मन्त्रालय र वन तथा वातावरण मन्त्रालयका सचिव र सम्बन्धित निकायका पदाधिकारीहरुसँग काठमाडौँ उपत्यकाभित्र खानेपानीको उत्पादन वितरण एवं सहज आपूर्तिको लागि देखिएका समस्या चुनौतीलगायतका विषयमा छलफल भएको थियो।

त्यस्तै, समितिले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रको पानी निर्वाध आपूर्तिका लागि उक्त निकुञ्जसम्बन्धी नियमावलीको अनुसूचीमा उल्लेखित रोयल्टीलगायतका आवश्यक विषयमा तत्काल आवश्यक संशोधन गर्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ।

त्यसैगरी खानेपानी आपूर्तिका लागि इआइएसम्बन्धी प्रक्रिया टुंग्याइ सहजीकरण गरिदिन पनि वन तथा वातावरण मन्त्रालयको ध्यानाकर्षण गराएको छ।