४५औँ प्रधान सेनापतिका रूपमा बलाधिकृत रथी सिग्देल

काठमाडौं – नेपाली सेनाले आजदेखि नयाँ नेतृत्व पाएको छ ।  प्रधानसेनापति प्रभूराम शर्माले बलाधिकृत रथी अशोकराज सिग्देललाई बिहीबार कार्यभार हस्तान्तरण गरेसँगै सिग्देलले सेनाको नेतृत्व सम्हालेका हुन् ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित विशेष समारोहमा प्रधानसेनापति शर्माले शुक्रबारदेखि सम्हाल्ने गरी वरिष्ठतम् रथी सिग्देललाई प्रधान सेनापतिको कार्यभार सुम्पिएका हुन् ।

४५औँ प्रधान सेनापतिका रूपमा बलाधिकृत रथी सिग्देलले करिब एक महिनापछि जिम्मेवारी सम्हाल्नेछन् । त्यसपछि उनी प्रधानसेनापतिको रुपमा काम गर्नेछन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आजदेखि लागू हुनेगरी रथी सिग्देललाई कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी यसअघि नै तोकिसकेका छन् ।

प्रधान सेनापति शर्माको तीनवर्षे पदावधि आगामी भदौ २४ गते समाप्त भई अनिवार्य अवकाशमा जानेछन् ।

प्रधान सेनापति अवकाश हुनु एक महिना घर बिदामा बस्ने प्रचलन अनुसार सो एक महिनाभरी रथी सिग्देलले कामु प्रधानसेनापतिका रुपमा काम गर्ने छन् ।