काठमाडौं- टुकुचा खोलामाथि बनाइएको सडक भासिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले खोलामाथि सडक बनाउँदा भासिएको अभिव्यक्ति दिएका छन्।
मेयर साहले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा कमलादीस्थित उक्त सडक भासिएको भिडियो सेयर गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्।
‘यति त सबैलाई थाहा हुनै पर्छ कि, मान्छेले आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्छ, खोलामाथि घर र बाटो होइन’ समाजिक सञ्जालमा बालेन लेख्छन्।
खोलामाथि सडक बनाउन नहुने भन्दै डोजर लगाएका काठमाडौं महानगरपालिकाका मेयर साहले सरकारले चाँडोभन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्नेसमेत बताएका हुन्।
उक्त सडक भासिँदा रातिदेखि सवारी आवागमन ठप्प भएको थियो। यतिबेला सडक भासिएर देखिएको प्वालमा प्रहरीले घेराहाली राखेको छ।