अबुधाबी -अन्तर्राष्ट्रिय सुरक्षा सहकार्य र प्रहरी प्रविधिबारे छलफल गर्न यूएई पुगेका गृहमन्त्री सुदन गुरुङले दुबईका युवराज तथा यूएईका उपप्रधानमन्त्री एवं रक्षामन्त्री शेख हमदान बिन मोहम्मद बिन राशिद अल मक्तुमसँग भेट गरेका छन् ।
सोमबार दुबईमा आयोजित पाँचौँ विश्व प्रहरी सम्मेलन (वर्ल्ड पुलिस समिट–२०२६) को उद्घाटन समारोहअघि युवराज शेख हमदानले गृहमन्त्री गुरुङसहित सम्मेलनमा सहभागी विभिन्न देशका मन्त्रीहरूलाई स्वागत गरेका थिए ।
सम्मेलनकै अवसरमा गृहमन्त्री गुरुङले यूएईका उपप्रधानमन्त्री तथा गृहमन्त्री लेफ्टिनेन्ट जनरल शेख सैफ बिन जायेद अल नाह्यानसँग पनि भेटवार्ता गरेका छन् । उक्त भेटमा अन्य सहभागी देशका मन्त्रीहरू पनि उपस्थित थिए ।
उद्घाटन समारोहमा सहभागी भएपछि गुरुङले प्रहरी तथा कानुन कार्यान्वयनका क्षेत्रमा विकसित नवीनतम प्रविधि, आविष्कार र उपलब्धि समेटिएको प्रदर्शनी अवलोकन गरे । उनले विभिन्न प्रदर्शकका प्रतिनिधिसँग पनि अन्तरक्रिया गरेका थिए ।
दुबई प्रहरीको आयोजनामा नोभेम्बर १६ देखि १८ तारिखसम्म दुबई वर्ल्ड ट्रेड सेन्टरमा सम्मेलन सञ्चालन भइरहेको छ ।
यूएईका राष्ट्रपति तथा दुबईका शासक शेख मोहम्मद बिन राशिद अल मक्तुमको संरक्षणमा आयोजित सम्मेलनको यस वर्षको नारा ‘कनेक्टेड फर इम्प्याक्ट : युनाइटिङ ग्लोबल पुलिसिङ टु सेफगार्ड फ्युचर जेनेरेसन्स’ रहेको छ ।
सम्मेलनमा ९० देशका २२० जना नेतृत्वकर्ता, विज्ञ तथा सुरक्षा क्षेत्रका विशेषज्ञ सहभागी छन् । अन्तर्राष्ट्रिय सुरक्षा सहकार्य सुदृढ गर्ने, अनुभव र विशेषज्ञता आदानप्रदान गर्ने तथा विकसित सुरक्षा चुनौतीको सामूहिक सामना गर्ने सम्मेलनको उद्देश्य छ ।
गृहमन्त्री गुरुङ नोभेम्बर १३ तारिख तीनदिने औपचारिक भ्रमणका लागि यूएई पुगेका हुन् । उनको सहभागिता र उच्चस्तरीय भेटघाटबारे यूएईस्थित नेपाली दूतावासले सोमबार प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको हो ।









