images

निरन्तरको वर्षापछि विराटनगरका अधिकांश स्थान डुबानमा

विराटनगर – कोशी प्रदेशको राजधानी विराटनगरमा निरन्तरको वर्षापछि ठाउँठाउँमा डुबान  हुन थालेको छ। विराटनगरको पूर्वतर्फ सिंघिया र पश्चिमतर्फ केसलिया खोला बहाव उच्च भएपछि डुबान भएको हो।

खोलामा आएको बाढी ‘ओभरफ्लो’ भएर बस्तीतिर पस्न थालेको प्रहरीले जनाएको छ।
विराटनगरमा पानी निकासको उचित प्रबन्ध छैन। जसका कारण सामान्य वर्षामै विराटनगर डुबानमा पर्ने गरेको छ।

निरन्तरको वर्षापछि विराटनगरका अधिकांश स्थान जलमग्न बनेका छन्।

सिंघिया खोलाको बाढी हाटखोला आसपासका बस्तीतिर पस्न थालेको  मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए।
वर्षा रोकिएन भने बाढी र डुबानले जनजीवन प्रभावित बनाउने देखिएको उनले बताए।

बाढी र डुबानबाट पीडित भएकाको उद्धारका लागि ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ। जोखिमयुक्त स्थानका सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ लैजान पहल भइरहेको छ।

कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु

अविरल वर्षापछि पहिरोमा परेर कास्कीमा दुई छुट्टाछुट्टै घटनामा एक बालक र एक बालिकाको मृत्यु भएको छ । उक्त घटनामा एकजना घाइते भएका छन् । कास्कीको मादी गाउँपालिका वडा नम्बर ५ चितेपानी घुम्तीमा मंगलबार राति पहिरोमा पुरिएर १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताए । उक्त घटनामा ७० वर्षीया हजुरआमा लालमाया बन्जाराको उद्धार गरिएको छ। घटना घटेका बेला घरमा नातिनी र हजुरआमा मात्र रहेका थिए । इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले लालमायाको उद्धार गरेको हो ।

यस्तै गए राति नै पोखरा महानगरपालिका–२७ आरुपाटामा हरि सुनारको दुई कोठाको कच्ची घर पहिरोले भत्किँदा उनका तीन वर्षीय छोरा अनमोलको मृत्यु भएको छ । उक्त घटनामा सुनारकी श्रीमती २७ वर्षीया रितु घाइते भएकी प्रहरी नायब उपरीक्षक शर्माले बताए । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। सो घटनामा हरि र उनका नौ वर्षीया छोरी अञ्जलीको सकुशल उद्धार गरिएको छ। पोखरामा गए रातिदेखि निरन्तर वर्षा भइरहेको छ ।

लमजुङमा पहिरोले पुरिँदा दुईको मृत्यु, तीन जना अझै बेपत्ता

https://laltinkhabar.com/story/20671/

लमजुङमा पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ भने ३ जना वेपत्ता भएका छन् । मृत्यु हुनेमा बेसीशहर नगरपालिका वडा नम्बर ११ चितिका १६ वर्षीय विकल सुनार र कोलासोंथर गाउँपालिका–३ बगुमका रुद्रमान गुरुङ रहेका छन् । चितिका विकल र उनका दाजु मिलन सुनार पहिरोमा परेर घाइते भएपछि उपचारका लागि जिल्ला अस्पताल बेसीशहर लैजादै गर्दा विकलको बाटैमा मृत्यु भएको लमजुङ प्रहरी प्रमुख डिएसपी मिनबहादुर घलेले जानकारी दिए ।

यता, कोलासोंथर गाउँपालिका बगुमका रूद्रमानसहित ४ जना पहिरोले पुरिएर वेपत्ता भएका थिए । पहिरो पन्छाएर उनीहरुको खोजी गर्दा ६९ बर्षीय रुद्रमानको शव भेटिएको डिएसपी घलेले बताए । पहिरोमा पुरिएका ३६ वर्षीय पञ्चकुमारी गुरुङ, ७ वर्षीय इच्छा गुरुङ र ५ वर्षीय नम्रता गुरुङ भने अझै वेपत्ता छन् ।

अविरल वर्षाका कारण गएको पहिरोले बगुममा रुद्रमान, पञ्चकुमारी र कोलासोंथर गाउँपालिकाका योजना शाखा प्रमुखसमेत रहेका चित्र घलेको घर पुरिएको छ । मृत अवस्थामा भेटिएका रुद्रमानका श्रीमती लिलाकुमारी र वेपत्ता भएकी पञ्चकुमारीका छोरा ९ वर्षीय नीरज छिमेकीको घरमा सुतेकाले जोगिएको गाउँपालिका उपाध्यक्ष गमी गुरुङले बताइन् । यस्तै, गाउँपालिका योजना शाखा प्रमख चित्र घले पनि पालिकाको केन्द्र रहेको मालिङमा रहेकाले जोगिएको गुरुङले बताइन् । पहिरोमा वेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको उनले जानकारी दिइन् ।

https://laltinkhabar.com/story/20671/